
झापा, २८ माघ । झापाको झापा गाउँपालिकाले कृषकलाई कृषिकर्ममा प्रोत्साहन गर्न खेतमै बिजुलीको पोल पुर्याउनुका साथै विद्युतमा अनुदान प्रदान गरिरहेको छ ।
यहाँका कृषकको खेतमै बिजुलीको पोल पुर्याउनुका साथै सिञ्चाइ प्रयोजनमा प्रयोग हुने विद्युत्को महसुलमा ८० प्रतिशत अनुदान दिइरहेको छ । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८१/०८२ मा रू एक करोड बराबरको विद्युत् पोल र रू ६५ लाख बराबरको विद्युत् तार खरिद गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो ।
“कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको कृषि कार्यक्रम अन्तरगत विद्युत् महसुलमा ८० प्रतिशत अनुदान दिने गरिएको छ”, उहाँले भन्नुभयो, “सिञ्चाइ कार्यका लागि कृषकले खपत विद्युत्को रकम गाउँपालिकाले तिरिदिने व्यवस्था गरिएको छ ।” पछिल्लो समय युवा पुस्ता विदेशिने क्रमलाई रोकेर उनीहरुालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याइएको उहाँ बताउनुहुन्छ ।
पालिकाले ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तर्गत एक सय ७६ वटा सिञ्चाइ मोटर र तीन सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । बोलपत्र मार्फत रू ४९ लाख छ सय ७९ बराबरको सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले बताउनुभयो ।
विद्युतीय मोटरको लागि कृषकको लागत सहभागिता रू ११ हजार ८० र स्प्रे ट्याङ्कीमा रू एक हजार पाँच सय ८५ रहेको छ भने सोही बराबरको रकम गाउँपालिकाले व्यहोरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।



