
सागर गौतम
अर्जुनधारा, २८ मंसिर । ‘माटो नै मानव जीवनको मूल्य आधार हो’ भन्ने मूल नाराका साथ अर्जुनधारा नगर क्षेत्रमा एकदिवसीय निशुल्क माटोको नमूना परीक्षण शिविर सम्पन्न भएको छ ।
माटोमा उत्पादन क्षमता निकै कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको नगर प्रमुख हरि कुमार रानाले बताउनुभयो । अर्जुनधारा नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी परीक्षण गरेको हो ।
अर्जुनधारा नगरपालिका नगर कार्यपालिका कृषि विकास शाखा, शनिश्चरेको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरु·ाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख रानाले जानकारी दिनुभयो ।
नगरपालिका अन्तर्गतका ११ वटै वडामा खेती गरिँदै आएको ७१ जना किसानको जमिनको माटो शनिश्चरे स्थित वडा–८ कार्यालयमा रहेको कृषि विकास शाखामा ल्याई माटो विशेषज्ञबाट माटोको नमूना परीक्षण गरिएको हो ।
कृषिमा आधारित नगर भएकाले किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन र विषादिरहित नगर बनाउने योजनाले यस्तोे कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
परीक्षणका क्रममा माटोमा अम्लियपन प्रदेश–१ मा नभएको र माटोको छारियपन पाइएको माटोे विशेषज्ञ हरि भुजेलले बताउनुभयो । माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटोमा अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।
भुजेलका अनुसार माटोमा १ देखि १४ पीएचसम्म अम्लीयपनाको मापन गरिन्छ । माटोमा ६ दसमलब ५ देखि ७ दसमलब ६ पीएचसम्मको मात्रालाई ठीक अर्थात् माटोको लागि अनुकूल अम्लीयपना भएको मानिन्छ । परीक्षणले क्रममा भने कतै ४ दसमलब ५ सम्म र कुनै स्थानमा नौ पीएचभन्दा बढी मात्रामा अम्लीयपना देखाएको तथ्याक भेटिने गरेको वहाँले बताउनुभयो ।
शिविरमा अर्जुनधारा–८ निवासी भिम प्रसाद आचायको जमिनको माटोको नमूना परीक्षण मापन गर्दा ५ दशमलब ९ प्रतिशत, सोही वडा निवासी खगेन्द्र आचार्यको जमिनको माटो परीक्षण गर्दा ५ दशमलब ८ प्रतिशत र लक्ष्मी माया गिरीको माटो परीक्षण गर्दा ६ दशमलब १ प्रतिशत देखिएको विज्ञ भुजेलले जानकारी दिए ।
उक्त माटोको अम्लीयपन तथा छारीयपनको मापन गर्ने ( पिएच) मेसिन हेरेर अर्जुनधारा नगरपालिकाका प्रमुख रानाले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । नतिजा प्राप्त भएपछि कृषि चुन, अन्य आवश्यक तत्वहरुको व्यवस्थापन गर्ने किसानलाई सहयोग प्रदान गरिने कृषि विकास अधिकृत सालीकराम भट्टराईले बताउनुभयो । वडा–८ का अध्यक्ष गोपिचन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथी नगर प्रमुख राना रहेका थिए । माटो परीक्षण शिविर अगाडि बढाएसँगै किसानले सहज तरिकाले खेती गर्न सक्ने विश्वास स्थानीयबासीले लिएका छन् । यस वर्षदेखि अर्जुनधारा नगर कार्यपालिकाले अर्जुनधारा–८ मा कृषि उत्पादनमा पकेट क्षेत्र मानेर कार्यक्रम समेत सुरु गरिसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


