
केशवराज भण्डारी
झापा, २ पुस । झापामा व्यावसायिक कुखुरा पालन गर्ने कृषकहरुले ‘चिक्स होली डे’ घोषणा गरेका छन् । नेपाल कुखुरा पालक किसान संघ झापाले पत्रकार सम्ंमेलनको आयोजना गरी सो घोषणा गरेका हुन् । जस अन्तर्गत पुस १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरा पालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छन् ।
नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडा सदस्य माया खाती र लक्ष्मी महतरा, नेपाल कुखुरा पालक किसान संघ कनकाई नगर समिति सचिव सिर्जना कटुवाल, बिर्तामोड अध्यक्ष सौरभ सुमन प्रसाईं, हल्दिबारीका संयोजक किशोर आचार्य लगायत ३० जना कृषकको सहभागिता रहेको जिल्ला सदस्य रमेश भट्टराईले जानकारी दिनुभयो । बिर्तामोडका संयोजक सौरभ सुमन प्रसाईंले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव डिल्ली उप्रेतीले सञ्चालन गरेका थिए ।
ह्याचरी व्यवसायीले मनोमानी ढंगबाट चल्लादेखि दानासम्मको मूल्य बढाएपछि कृषकहरु आन्दोलित बनेका छन् । व्यवसायिक कुखुरा पालन गरेर आय–आर्जनको सपना बुनिरहेका झापाली कृषकहरु कुखुराबाट एकाएक घाटा वेहोर्नुपर्ने परिस्थिति आइ परेपछि आन्दोलित वनेका हुन् । पहिलो चरणमा जिल्ला प्रसाशन कार्यालय हुँदै स्थानीय तह समेतमा गुहार माग्न बाँकी नराखेको बताउदै राज्यका कुनै पनि अंगले वास्ता नगरेको कृषकहरुको गुनासो छ ।
गर्मी महिना चल्ला बचाउनै मुस्किल जाडोमा चल्ला खरीद गर्न नसकिने गरी चर्को मूल्यको मारमा परेका कृषकहरु त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनु पर्नेमा २५ देखि ३० ग्रामको मात्र हुने नेपाल कुखुरा पालक किसान संघका सचिव डिल्ली उप्रेतीले जानकारी दिए ।
दाना उद्योगले दानाको मूल्य बढाए सँगै चल्लाको मूल्य पनि अधिक मात्रामा बढेको तर मासुका लागि कुखुरा खोरबाट उठाउदा भने कृषकको लागतभन्दा कममा दिनुपर्ने बाध्यता कृषकको छ । एउटा कुखुराको चल्ला हुर्काई मासुका लागि योग्य बनाउनसम्म प्रतिकेजि १ सय ६५ रुपैयाँ लागत पर्ने तर कुखुरा उठाउने डिलर भनौ विचौलियाले भने १ सय ५५ रुपैयाँ प्रति केजीका दरले भाउ दिने गरेको बताउँछन् नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेल । ्
राज्यले कृषि विकासमा जोड दिइरहँदा मुठ्ठीभर कम्पनीहरुले कृषक ठग्ने कार्यलाई तीव्रता दिएको सन्दर्भमा राज्यले चाहना गरे अनुसारको कृषि विकास र यससँग सम्बन्धित गतिविधि सञ्चालन हुन सकिरहेका छैनन् । कृषकमुखी कार्यक्रम सञ्चालन गर्ने राज्यको उद्घोष यी सेवा प्रदायक कम्पनीहरुले निरर्थक बनाइरहेको वताउछन नेपाल कुखुरा पालक किसान संघका सदस्य रमेश भट्टराई । उनी भन्छन्, ‘झापा जिल्लाबाट सुरु भएको आन्दोलनमा देशैभरका कुखुरा पालक कृषकहरुले साथ दिने र देशभरबाट खोरमा चल्ला नहालेर आन्दोलन सफल बनाउन सम्पूर्ण कृषकहरुलाई आग्रह गर्दछु ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


