
बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा शुक्रबारदेखि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुम चुम्लुङको सह–आयोजनामा ‘उभौली पर्व प्रथम राष्ट्रियव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’ शुरु भएको हो । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले चेसको गोटी चालेर संयुक्त रूपमा गर्नुभएको थियो ।

आज भएको पहिलो र दोस्रो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, राजन सुवेदी, पुरुषोत्तम चौलागाईं, झापाका प्रकाश नेपाल, ज्वाला लिम्बू, पाँचथरका रिसोन थापा, महेन्द्र साम्वाहम्फेले दुवै खेलमा सफलता हात पारेर दुई अंक जोड्न सफल हुनुभयो ।
बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि पाँचकर्ण राई, बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, महासंघका अध्यक्ष हेरकाजी महर्जनले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो ।
स्वीस लिग प्रणालीमा हुने तीन दिने प्रतियोगितामा विजेताले रू ५१ हजार, उपविजेताले रू ३५ हजार र तेस्रो हुनेले रू ३० हजार नगद प्राप्त गर्ने प्रतियोगिताका निर्देशक ज्वाला लिम्बूले जानकारी दिनुभयो । प्रतियोगितामा ३७ जिल्लाका एक सय ३१ जना खेलाडी सहभागी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

