
झापा, २४ असार । नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार गर्न आन्तरिक कार्यदल गठन गर्ने निर्णय गरेको छ। असार १६ देखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै संशोधन आवश्यकताबारे निष्कर्ष निकाल्न कार्यदल बनाउने निर्णय लिएको हो।
महामन्त्री गगन थापाले बैठक निर्णय सुनाउँदै भने, “नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको समीक्षा गर्दै सवल र दुर्वल पक्ष पहिचान गरी आवश्यक संशोधनबारे सार्थक निष्कर्षमा पुग्न पार्टीभित्रै कार्यदल गठन गरिनेछ।”
संविधान संशोधनका लागि कांग्रेसले अन्य दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श गर्ने पनि निर्णय भएको छ। थापाले भने, “नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्छ र नागरिक समाज तथा सरोकारवालासँग पनि परामर्श गर्दछ।”



