
झापा, २ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमितता हटाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न बैठकमा उक्त निर्णय पारित गरिएको हो।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा गरिएको यो परिवर्तनबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

संशोधित विधान आगामी पोलिटब्युरो बैठकमा पेस गरिनेछ, जसपछि केन्द्रीय कमिटीमा लगिने तयारी छ। सचिवालय बैठकले पोलिटब्युरोमा १५ पदाधिकारी सहित ८४ सदस्य र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय पनि गरेको छ।
ज्ञवालीका अनुसार अब पार्टीमा साधारण सदस्य र संगठित सदस्य गरी दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्नेछ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनबाट नयाँ व्यवस्था औपचारिक रूपमा लागू हुनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

