
झापा, ६ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले यस वर्ष पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा प्रवेश परीक्षा नगर्ने निर्णय गरेको छ। अब विद्यार्थीहरू एसईईमा प्राप्त जीपीएका आधारमा छनोट हुनेछन्।
परिषद्का सूचना अधिकारी एकराज अधिकारीका अनुसार देशभरका इच्छुक विद्यार्थीहरूले साउन ६ देखि २६ गते राति ११:५९ बजेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन सीटीईभीटीको आईटीएमएस पोर्टलमार्फत भर्नुपर्नेछ।
नर्सिङ पढ्न कम्तीमा २.० जीपीए आवश्यक हुने छ। फारम भर्दा ग्रेडसिट, नागरिकता, फोटोसहित आवश्यक कागजात अनलाइन अपलोड गर्नुपर्नेछ। प्रवेश शुल्क रु १,००० कनेक्ट आईपीएस वा खल्ती एपबाट तिर्न सकिनेछ।
छात्रवृत्तिको लागि पनि परीक्षा नहुने भएको छ। सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित कोटामा विभाजन गरी जीपीएका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो वर्ष ६२ कलेजमा २,४८० विद्यार्थी भर्ना हुनेछन्। छात्रवृत्तिको लागि १८६ सिट उपलब्ध हुने सीटीईभीटीले जनाएको छ।
छात्रवृत्तिको कोटा महिला, दलित, मुस्लिम, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, मधेसी र अन्य लक्षित समुदायका लागि छुट्याइएको छ। स्वीकृत आवेदनपछि विद्यार्थीले स्वीकृतिको कार्ड डाउनलोड गर्न सक्नेछन्, जुन भर्ना र रजिस्ट्रेसनमा अनिवार्य हुनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


