
शिवसताक्षी, १५ साउन । झापाको शिवसताक्षीमा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ ।
आजबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था महिला सचेतना सशक्तिकरण नेपाल, काठमाडौं को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले यस्ता तालिमहरुले जनप्रतिनिधिहरुलाई कानुनी जानकारी प्राप्त गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । “कतिपय अवस्थामा न्यायसम्बन्धी निर्णय गर्न कानुनी अप्ठ्यारा आउँछन्। यस्तो तालिमले प्रतिनिधिहरुको कार्यक्षमता बढाउँछ,” उनले भने ।
कार्यक्रमकै अवसरमा संस्था भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने कृष्णप्रसाद हुमागाई र सुनिता हुमागाईलाई सम्मान गरिएको छ । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, संस्थाकी अध्यक्ष गोमा भुसाललगायतले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।
संस्थाकी अध्यक्ष गोमा भुषालले दुई हुमागाई परिवारले एक÷एक कठ्ठा गरी कूल दुई कठ्ठा जग्गा प्रदान संस्थालाई निशुल्क प्रदान गरेको बताइन् । उक्त जग्गाको मूल्य करिब २० लाख रुपैयाँ पर्ने संस्थाले जनाएको छ ।
तीनदिने तालिममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौला र अधिवक्ता लेखनाथ निरौलाले सहजीकरण गर्नेछन् । कार्यक्रममा उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष भाष्कर न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तिरुपति परियारले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाकी संस्थापक सदस्य निरु चौहानले स्वागत गरेको कार्यक्रमको सञ्चालन तारा सिग्देलले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


