
सन्तोष शर्मा
झापा, १९ साउन । झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।
जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा १५ प्रतिशतसम्म तरलता हुनुपर्ने झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल (भानु)ले बताउनुभयो ।
“अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भने कतिपय साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो, “सहकारी संस्थाले लगानी बृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ ।”
नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ३६.२१ प्रतिशत अर्थात् रू पाँच अर्ब १२ करोड ६१ लाख ६० हजार दुई सय दुई तरलता रहेको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा २४.९५ प्रतिशत अर्थात् रू दुई अर्ब ८४ करोठ ६६ लाख ९९ हजार दुई सय ३३, कर्णाली बचत तथा ऋण सहकारी संस्थामा १९.५२ अर्थात् रू ६८ करोड २५ लाख तीन हजार आठ १३, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा १९.०५ प्रतिशत अर्थात् रू ३२ करोड ८४ लाख ५३ हजार पाँच सय ६० र सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा १७.३२ प्रतिशत तरलता रहेको संस्थाहरुको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
सहकारी संस्थाहरुले बिनाधितो लगानी गर्दा अहिले लगानी जोखिममा पर्दै गएकाले थप चुनौती देखिएको सचिव दंगाल बताउनुहुन्छ । पछिल्लो समय झापाको सहकारी क्षेत्रमा उल्लेख्य सुधार आएको उहाँको भनाइ छ ।
झापामा हाल ७ सय ५३ वटा सहकारी संस्था छन् । ती सहकारी संस्थामा वार्षिक करिब ३ खर्बको वित्तीय कारोबार हुने गर्दछ । कोशी प्रदेशमा एक अर्बभन्दा बढीको वासताल भएको १४ वटा सहकारी छन् त्यसमध्ये ११ वटा झापामा रहेका छन् भने २ वटा मोरङ र १ वटा सुनसरीमा रहेको सचिव दंगालले बताउनुभयो ।
कोशी प्रदेशमा २८ वटा सहकारी कारबाहीमा परेका छन् भने झापामा सात वटा कारबाहीमा परेको सचिव दंगालले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



