
झापा, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने भएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका अन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । ।
नेकपा ९विप्लव० लगायत क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षा समेत गरिएको छ ।
बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतिक प्रस्ताव गर्दै खबरदारी गरेको छ । यही साउन १६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



