
झापा, २० साउन । झापाको अर्जुनधारा नगरपालिकामा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा–१० का विद्यार्थीहरूसँग शैक्षिक विषयमा अन्तरक्रिया तथा मोटिभेशन कक्षा सञ्चालन गरिएको छ।
कार्यक्रम आजदेखि सुरु भएको कार्यक्रम भोलिसम्म चल्नेछ। नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक अभियन्ता याङजोम शेर्पाले विद्यार्थीहरूलाई जीवनमा शिक्षा प्राप्तिका लागि गर्नुपर्ने संघर्ष, त्यसबाट प्राप्त हुने सम्मान तथा प्रेरणादायक अनुभवहरू साझा गरिन् । उनले ‘एम्बीसन गुरु’ नामक एप्समार्फत उपलब्ध अनलाइन शैक्षिक सामग्रीसम्बन्धी जानकारी पनि दिइन् ।

नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार डिजिटल प्रविधि उपयोग गरी विद्यार्थीहरूलाई प्रेरित गर्दै एसईई परिणाम तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । नगरका ८ सामुदायिक तथा १५ संस्थागत विद्यालयका गरी २३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ ।
आज सिंहदेबी मावि, महारानीगञ्ज मावि, लक्ष्मी मावि र नगरसभाहलमा कार्यक्रम सम्पन्न हुने भने भोलि बुधवार जनता मावि, अर्जुनधारा मावि र भानु माविमा कार्यक्रम सञ्चालन हुनेछ। एसईई पूरक परीक्षामा सहभागी विद्यार्थीहरूलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


