
भद्रपु, २ भदौ । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको छ ।
नगरपालिकाले साउन २८ र २९ गते नगर क्षेत्रका २० वटा औषधि पसल, प्याथोलोजी, क्लिनिक, आयुर्वेद उपचार केन्द्रहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रिएका औषधि फेला परेको हो ।
साउन २९ गते भद्रपुर–४ स्थित झापाचोकमा रहेको प्रयसी फार्मेसीमा २८ प्रकारका म्याद गुज्रिएको एक बोरा औषधि फेला परेको थियो भने बिना इजाजत क्लिकिन सञ्चालन गरेको पाइएको थियो ।
त्यस्तै, भद्रपुर–६ मन्त्रीचोकस्थित दुर्गा माता एक्स–रे मापदण्ड विपरीत सञ्चालन भएको पाइएको थियो । अनुगमन टोलीका अनुसार एक्सरे सञ्चालनका लागि पूर्वाधार मापदण्ड अनुसार छैन ।
सोही स्थानको निताइ आयुर्वेद उपचार केन्द्रमा एलोपेथिक औषधि बेचेको पाइएको थियो । त्यहाँ बेच्न राखिएका सात किसिमका एलोपेथिक र म्याद गुज्रिएका औषधि अनुगमन टोलीले जफत गरेको छ ।
सोही स्थानको महेशपुर आयुर्वेदिक उपचार केन्द्रमा लेबलबिनाका औषधि फेला परेपछि अनुगमन टोलीले ती औषधि जफत गरेको छ ।
भद्रपुर बजारमा रहेको भूमि मेडिकलबाट सात प्रकारका म्याद गुज्रिएको औषधि अनुगमन टोलीले बरामद गरेर जफत गरेको छ भने भद्रपुर बजारमै रहेको न्यू नविन मेडिकल हल÷ साह क्लिनिक स्वास्थ्य कार्यालय झापामा दर्ता नभएको पाइएको छ ।
भद्रपुर बजारमै रहेको राय मेडिकलबाट ठूलो मात्रामा म्याद गुज्रिएको औषधि बरामद गरिएको छ भने पन्थ मेडिकल हल एण्ड क्लिनिकबाट समेत केही म्याद गुज्रेका औषधि अनुगमन टोलीले बरामद गरेको छ ।
म्याद गुज्रिएको औषधि राख्ने गरिएको, कम गुणस्तरको औषधि बिक्री वितरण गरिएको, कतिपय औषधि प्रयोग गरेपछि मात्र म्याद गुज्रेको थाहा पाएको लगायतका जनगुनासो बढेपछि कार्यपालिका बैठकबाटै निर्णय गरेर औषधि पसलहरुको अनुगमन गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।
“एउटै औषधिको मूल्य पनि फरक–फरक पर्ने गरेको गुनासो पनि आएको छ”, उहाँले भन्नुभयो, “नगरबासीको गुनासोपछि कार्यपालिका बैठकबाटै निर्णय गरेर अनुगमन थालिएको हो ।” अनुगमनपछि उनीहरूलाई सचेत गराउनुका साथै दर्ता–नवीकरण प्रक्रिया तत्काल पूरा गर्न निर्देशन दिइएको छ ।
साउन २८ गते भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल नजिकैको ऋद्धिसिद्धि फार्मेसी, गोमा फार्मेसी, युनिक खरेल फार्मेसी, सिर्जना मेडिकल हल, नेपाल चस्मा घर, भद्रपुर मेडिकल हल, अधिकारी प्याथोलोजी क्लिनिक, एसएस मेडिसिन सेन्टर, मेची मेडिकल डायग्नोस्टिक सेन्टर प्रालि र एनबी डेन्टल क्लिनिकको अनुगमन गरिएको थियो । अधिकांश औषधि पसलबाट म्याद गुज्रेको औषधि बरामद भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


