
विराटनगर, २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सङ्गठित सदस्य तथा सक्रिय कार्यकर्ता रहेको स्पष्ट पार्नुभएको छ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले ४५ वर्षदेखि पार्टीमा सक्रिय रहँदै आएको बताउनुभयो। ‘म नेकपा एमाले नै हो। एमालेकै तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुँ र अहिले पनि पार्टीको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेकी छु’, उहाँले भन्नुभयो।
केन्द्रीय कमिटीले सदस्यता नवीकरण नगर्ने निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले औपचारिक जानकारी नभएको बताउनुभयो। ‘म अहिले केन्द्रीय समितिमा छैन। पार्टीको औपचारिक निर्णयबारे सबै सदस्यलाई जानकारी नहुन सक्छ’, उहाँको भनाइ थियो।
आफू आलोचनाबाट मुक्त नरहेको स्वीकार गर्दै भण्डारीले कुनै गुट नचलाएको स्पष्ट पार्नुभयो। काँग्रेस नेता डा. शेखर कोइरालासँगको भेटबारे प्रश्नमा उहाँले त्यसलाई सामान्य भेटघाटको रूपमा लिन आग्रह गर्नुभयो । ‘डा. कोइराला पनि मोरङ, विराटनगरकै हुन्। हामी त्यहीँ जन्मिएर हुर्किएका हौं। यस्तो भेटलाई हाउगुजीको रूपमा लिनु उपयुक्त हुँदैन’, उहाँले भन्नुभयो।
वाम एकताको सम्भावनाबारे भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले एकता असम्भव भन्न नमिल्ने बताउँदै, हालको अवस्थामा त्यसलाई बलियो सम्भावना भने नदेखिएको बताउनुभयो। ‘सम्भावना छैन भनेर भन्न मिल्दैन, तर म त्यति बलियो देख्दिनँ’, उहाँको भनाइ थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



