
झापा, ३ भदौ । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमै उच्च मूल्य पाएको छ। नेपालकै सबैभन्दा ठूलो अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले जानकारी दिए।
“यो निकै राम्रो भाउ हो,” ढुङ्गानाले भने, “गत वर्ष यही सिजनमा प्रतिमन रु ४० हजारसम्ममा कारोबार भएको थियो ।” उनका अनुसार यो मूल्य विगत सात वर्षको उच्चतम हो । विसं २०७५ मा प्रतिमन रु एक लाख पाँच हजारसम्म पुगेको अलैँचीको मूल्य सोही वर्षको मङ्सिरमा रु एक लाख सात हजार पुगेको थियो। २०६७ सालमा प्रतिमन रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ ।
ढुङ्गानाका अनुसार भदौ–असोजमा भाउ बढ्नु मङ्सिर–पुसमा अझै मूल्य वृद्धि हुने संकेत हो । अहिलेको मूल्य वृद्धिले किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । “एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम रु २० हजारसम्म लगानी गर्छन्,” उनले भने, “बेच्ने बेलामा उच्च मूल्य पाउँदा किसान उत्साहित छन् ।”
व्यापारीहरूले अहिले किसानबाट खरिद गरेको अलैँची भण्डारण गरी मङ्सिर–पुसमा मूल्य बढेपछि बिक्री गरेर मुनाफा कमाउने रणनीति अपनाउने गरेका छन् । नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा बढी उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



