
झापा, ४ साउन । सन् २०२५ को हालसम्म जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु भएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार मृतकहरूमा आठ वर्षका एक, १७ वर्षका एक तथा ४० वर्षभन्दा माथिका नौ जना रहेका छन् ।
मृतकहरू झापा, मोरङ, तेह्रथुम, बारा, मोरङ, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवनका तीन जना रहेका छन्। गौतमका अनुसार घरमै रहेका ३० प्रतिशत र अस्पताल जाँदै गरेका २७ प्रतिशत बिरामीको मृत्यु भएको हो।
सन् २०२४ मा ८६ जनामा सङ्क्रमण देखिएको थियो भने २५ जनाको मृत्यु भएको थियो । डा गौतमले खोप नलगाएकाहरूमा सङ्क्रमणको दर उच्च रहेको जानकारी दिनुभयो। हालसम्म २४ जिल्लाका ५० स्थानीय तहमा रोग देखिएको छ, जसमध्ये २४ स्थानीय तहलाई उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ। रोग विशेषगरी साउनदेखि कात्तिकसम्म सक्रिय हुने गर्दछ। नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइएको छ।
रोगको प्रकृति
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण गराउने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। साँझ र बिहानको समयमा सक्रिय हुने लामखुट्टे धानबाली, दलदल तथा पानी जम्ने स्थानमा प्रजनन गर्छन्, जसले जोखिम बढाउँछ।
गम्भीर अवस्थामा रोगले मस्तिष्क सुन्निने, पक्षाघात, बेहोशी, कोमामा जाने तथा मृत्युको सम्भावना समेत बढाउँछ। रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ, तर प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ। यो रोग सङ्क्रमित हाँस, कुखुरा, सुंगुरजस्ता जनावरलाई टोकेका लामखुट्टेबाट मानिसमा सर्छ, तर मानिसबाट मानिसमा भने सर्दैन।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


