
बिर्तामोड, ७ भदौ । झापाको बिर्तामोडस्थित न्यूटनस् एजुकेशन एकेडेमीले रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनलिष्ट भएका स्मायन बजगाईलाई सम्मान गरेको छ ।
बाल्यकालमै गायनका क्षेत्र क्रियाशील बजगाईं राष्ट्रियस्तरको चर्चित गायन रियालिटी सो मा फाइनलिस्ट भएपछि विद्यालयले सम्मान गरेको हो । स्मायन न्यूटनस् एजुकेशन एकेडेमीका कक्षा–८ का विद्यार्थी हुन् । राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शोमा आफ्नो सांगीतिक क्षमता प्रस्तुत गरी विद्यालय र जिल्लाको गौरव बढाएको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा स्मायनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईले बताउनुभयो ।

सो अवसरमा विद्यालयका इञ्चार्ज नोएल परेराले स्मायन बजगाईं हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको उज्जवल नक्षत्र भएको प्रतिक्रिया दिनुभयो । निरन्तर अभ्यास, आत्मविश्वास र मेहनतकै कारण उनले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनको सफलता अरु विद्यार्थीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मान ग्रहण गर्दै स्मायन बजगाईंले आफ्ना गुरुजन, विद्यालय, परिवार र साथीहरूलाई धन्यवाद दिँदै अझै कडा परिश्रम गर्ने र भविष्यमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस किसिमको सम्मानले विद्यार्थीहरूमा आत्मविश्वास थप्ने मात्र नभई अरु प्रतिभावान बालबालिकालाई पनि आफ्नो क्षमताको पहिचान गर्न प्रेरित गर्ने विद्यालयकी शिक्षक पवित्रा पौडेलले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

