
झापा, ८ भदौ । आर्थिक वर्ष २०८१–८२ मा मुलुकको आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सुदृढ बन्दै गएका छन् ।
राष्ट्र बैंकका अनुसार चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष २०८०–८१ मा सो खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । यस्तै, शोधनान्तर स्थिति पनि सुधार हुँदै रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्ष यो रकम रु पाँच खर्ब दुई अर्ब ४९ करोड थियो ।
गत वर्ष खुद पुँजीगत ट्रान्सफर रु नौ अर्ब ८४ करोड रहेको छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ। कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको छ। कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको छ ।
कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ। स्थिर पुँजी निर्माण र राष्ट्रिय बचतको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विद्युत् जडित क्षमता तीन हजार ५९१ मेगावाट पुगेको छ, जसमा जलविद्युत् मात्र तीन हजार ३९० मेगावाट रहेको छ। पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ । २०८२ असार मसान्तसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



