
भद्रपुर, ९ भदौ । प्रवासी तथा तिनीहरुको दम्पत्तिहरूका लागि एचआईभी रोकथाम कार्यक्रमको समन्वय बैठक सम्पन्न भएको छ ।
राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालद्वारा जिल्लामा सञ्चालित यो कार्यक्रमको आज भद्रपुर नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका केन्द्रीय सदस्य सञ्जीव खड्काको अध्यक्ष, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य रहेको थियो ।
बैठकमा परियोजना संयोजक भूषण शर्माले संस्थाको परिचय, उद्देश्य, लक्ष्य, योजना र हालसम्मको प्रगतिबारे जानकारी दिनुभएको थियो । विशेषगरी भारतमा कामका लागि कम्तिमा छ महिनाका लागि जाने र फर्किएर आएर पुनः काममा जानेहरु लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
साझेदार संस्था यूएनडीपी नेपाल र दातृ निकाय ग्लोबल फण्ड सहयोगमा सञ्चालित यो कार्यक्रम गत १ फेब्रुअरी २०२५ देखि सञ्चालित छ भने आगामी ३१ जुलाई २०२७ सम्म चल्नेछ ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले कार्यक्रम राम्रो रहेकाले जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । धेरै संस्थाले एउटै कार्यक्रम सञ्चालन गरिरहेकाले समन्वय गरेर काम गर्न सके थप प्रभावकारी हुने बताउनुभयो ।
भद्रपुर नगर क्षेत्रमा क्षयरोग, एचआईभी, हात्तीपाइले, कुष्ठरोगको जोखिम उच्च देखिएकाले नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुहुँदै उहाँले समन्वय गर्न आग्रह गर्नुभयो ।
नेपालले लिएको एचआईभीको राष्ट्रिय रणनीति सन् २०२१–२०२६ अुनसार ९५–९५–९५ को लक्ष्य हासिल गर्न योगदान पु¥याउने कार्यक्रमको मुख्य लक्ष्य रहेको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका केन्द्रीय सदस्य सञ्जीव खड्काले जानकारी दिनुभयो ।
महासंघकी प्रोजेक्ट अफिसर आकृति पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर खड्का, स्वास्थ्य कार्यालय झापाका विरेन्द्र दास, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


