
बिर्तामोड, १६ भदौ । नेपालमै युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘यहाँ छ’ नामक एप्स सार्वजनिक गरिएको छ। डिजिटल सेवा र फ्रीलान्सिङ अवसर प्रदान गर्ने यो एप्स सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
रुट डेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले विकास गरेको ‘यहाँ छ’ एप्सको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले एक विशेष समारोहकाबीच गरेकी हुन्।
कार्यक्रममा कम्पनीका सल्लाहकार रवी चापागाईंको अध्यक्षता रहेको थियो भने स्वागत नविन भण्डारीले गरे। कम्पनीका प्रतिनिधि रविन थापाले एप्सको उद्देश्य, सेवा सुविधा र आगामी योजनाबारे जानकारी दिए।
नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ प्लेटफर्म
‘यहाँ छ’ एप्सलाई नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको छ। यसले देशभरिका फ्रीलान्सर र सेवाग्राहीलाई एउटै डिजिटल माध्यममा जोड्ने लक्ष्य राखेको छ।
प्लेटफर्म सञ्चालनका लागि सात विभाग गठन गरिएको छ, जसले प्रयोगकर्ता पहिचान सुरक्षा, भुक्तानी व्यवस्थापन, जिज्ञासा समाधान, विवाद व्यवस्थापन, प्रविधि सुरक्षा, ब्रान्ड प्रवर्द्धन तथा समग्र निगरानीको जिम्मेवारी लिनेछन्।
प्लेटफर्मका सञ्चालकहरूमा रविन थापा, योगेश भण्डारी, नवीन कार्की, गोपाल पौडेल र कुमार चापागाईं रहेका छन्।
सम्मान र शुभकामना मन्तव्य
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, तथा बंगलादेशका इलास खानलगायतले शुभकामना मन्तव्य राखे।

ढुवानी व्यवसायी पदम श्रेष्ठलाई एप्स सञ्चालनमा सहयोग गरेको भन्दै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन वुढाथोकी, जिल्ला खेलकूद समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीलगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

