
कनकाई, २३ भदौ । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा शुरु भएको छ ।
संस्थाको इकाइगत साधारणसभा अन्तरगत कनकाईमा पहिलो इकाइगत साधारणसभा भएको हो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता एवम् कनकाई नगरपालिका वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा पहिलो इकाइगत साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चौलागाईंले संस्थाले गरेको सदस्य लक्षित विभिन्न कार्यक्रम र समाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले वर्तमान आर्थिक मन्दीको अवस्थालाई ख्याल गर्दै ऋण र बचतको ब्याजदर सहुलित बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत वर्षको तुलनामा संस्थाको वासलातमा ४ प्रतिशत बृद्धि भई एक अर्ब २० करोड बढी पुगेको जानकारी दिनुभयो ।
उहाँले गत आर्थिक वर्ष २०८१/८२ मा सदस्य संख्या १० हजार ६३५, शेयर पुँजी ११ करोड ७ लाख ७५ हजार, कुल बचत ८३ करोड १२ लाख १६ हजार ९३० र ऋण लगानी १ अर्ब ६९ लाख ५३ रुपैयाँ रहेको बताउनुभयो ।
इकाइगत साधारणसभामा कनकाई उद्योग वाणिज संघका कार्यवाहक अध्यक्ष जनक कार्की, भगवती सहकारी संस्थाका उपाध्यक्ष तोमप्रसाद बारकोटी, दोमुखा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेशकुमार बारकोटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
सुरुङ्गा सेवा केन्द्र अन्तरगत संस्थाको १ हजार ६१ जना सेयर सदस्य, ७६ लाख ११ हजार ४०० रुपैयाँ शेयर पुँजी, ४ करोड ३ लाख ५७ हजार ९०७ रुपैयाँ बचत संकलन, ६ करोड ७ लाख २७ हजार १८१ रुपैयाँ र ५ करोड ३५ लाख २४ हजार ६९९ रुपैयाँ कूल कारोबार रहेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।
सुरुङ्गा सेवा केन्द्रका व्यवस्थापन उप–समिति सदस्य भरत ढकालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, संस्थाका सञ्चालक एवम् कर्मचारी र शेयर सदस्यको बाक्लो उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



