
झापा, २४ भदौ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।
काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिनुभयो ।
जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


