
काठमाडौँ, २७ भदौ । शीतल निवासले आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न निर्देशन दिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा ठूला दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति भएपछि यस्तो निर्देशन आएको हो ।
जेनजीको मागअनुसार अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन । बिहीबार राति शीतल निवासमा कार्कीको आगमनसँगै राष्ट्रपति पौडेलले कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। सहभागी नेताहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा रहेका थिए ।
कार्कीको नाममा सहमति जुटेपछि राति १२ बजे गृह मन्त्रालयका कर्मचारीहरूलाई शीतल निवास बोलाइएको थियो । यद्यपि अन्तिम निर्णय नभएकाले उनीहरूलाई फर्काइएको थियो । आज बिहान भने फोनमार्फत स्वागतको तयारी थाल्न निर्देशन आएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



