
झापा, ३० भदौ । दसैँसहित चाडपर्वको अवसरमा सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लाका ४२ स्थानमा सेवा उपलब्ध गराएको छ। यसरी देशभर १५३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको हो।
सहुलियत मूल्य पसलबाट प्रतिकेजी वा प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट दिइनेछ। पसलहरूमा चामल, दाल, गेडागुडी, तेल, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी तथा कर्णाली क्षेत्रका रैथाने उत्पादनहरू उपलब्ध हुनेछन्।
साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, र अन्य खाद्यवस्तुमा ७ रुपैयाँ छुट दिने जनाएको छ। उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायण लगायत स्थानमा बिक्री केन्द्र सञ्चालनमा छन्। तीन मोबाइल भ्यानसहित उपत्यकामा १४ स्थानमा सेवा उपलब्ध गराइएको छ।
कर्पोरेसनका अनुसार एक व्यक्तिले अधिकतम ६ केजी नुन, २ केजी चिनी, र त्यही परिणाममा खानेतेल, चामल, दाल तथा चिउरा सटही गर्न सक्नेछन्। मागअनुसार उपत्यकाबाहिरका २२ जिल्लामा पनि सेवा विस्तार गरिने तयारी गरिएको छ।
सरकारले सहुलियत मूल्यमा बिक्री गरिएका वस्तुको बराबरमा शोधभर्ना उपलब्ध गराउने व्यवस्था गरेको छ। खाद्य कम्पनीले चाडपर्वको अवधिमा २ करोड ५२ लाख रुपैयाँ बराबरको सहुलियत दिने अनुमान गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



