
झापा, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विदेशमा रहेका नेपालीहरूले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको विप्रेषण रकम स्वदेश पठाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड पुगेको थियो । यस वर्षको वृद्धि दरले विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार देखिएको राष्ट्र बैंकको विश्लेषणमा उल्लेख छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो दर १५.८ प्रतिशत थियो ।
त्यस्तै, खुद द्वितीय आय (ट्रान्सफर) पनि उल्लेखनीय रूपमा वृद्धि भई रु एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यो आय रु एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।
राष्ट्र बैंकको विवरणअनुसार, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ थियो ।रोजगारीका लागि विदेशिने नेपालीको संख्या बढ्दै जाँदा विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



