
झापा, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, कूल वस्तु व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो ।
आयातमा दोहोरो अङ्कको वृद्धि
साउन महिनामा कूल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा ०.६ प्रतिशतले कमी आएको थियो ।
मुलुकगत आधारमा :
भारतबाट आयात: ७.५% वृद्धि
चीनबाट आयात: १४.१% वृद्धि
अन्य मुलुकबाट आयात: २०.५% वृद्धि
वस्तुगत रूपमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारीसाधन, चामल, कोइला, रासायनिक मलको आयात बढेको छ। भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा तेलहनको आयात घटेको छ।
निर्यातमा उल्लेखनीय सुधार
समीक्षा अवधिमा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो।
गन्तव्य मुलुकअनुसार:
भारततर्फ निर्यात: १५६.७% वृद्धि
चीनतर्फ निर्यात: ६५.२% कमी
अन्य मुलुकतर्फ निर्यात: १.४% कमी
वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची, जुटका सामानको निर्यात बढेको छ। जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियाको निर्यात भने घटेको छ।
निर्यात–आयात अनुपातमा सुधार
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९.५ प्रतिशत मात्र थियो। भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्ष १३ अर्ब ९८ करोड थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



