
झापा, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिमण्डल विस्तारको तयारी थालेकी छन् । भदौ २७ गते जेन–जी प्रदर्शनकारीको मागअनुसार प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताएकी छन्, यद्यपि संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् गठनको व्यवस्था गरेको छ ।
भदौ २९ गते उनले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री नियुक्त गरिसकेकी छन् । बाँकी ७ मन्त्रालयका लागि योग्य, गैरदलीय र विषय विज्ञ व्यक्तिको खोजी भइरहेको छ ।
बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राख्नेछिन् । मन्त्री चयनका लागि ‘स्वच्छ छवि, दलीय आबद्धता नभएको, विषय विज्ञ र जनताको विश्वास जितेका’ मापदण्ड तय गरिएको छ । कार्कीले चुनावसम्मको छोटो कार्यकालमा प्रभावकारी काम गर्न सक्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने बताएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलबाट प्रतिनिधित्व गराएर मन्त्रिमण्डल बनाउने सुझाव दिए पनि कार्कीले अस्वीकार गरेकी छन् । उनले चुनाव नलड्ने, समाजमा योगदान दिएका, जनजाति, दलित, महिला र पिछडिएको वर्गका व्यक्तिलाई प्राथमिकता दिने बताएकी छन् । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले भ्रष्टाचार अन्त्य, सुशासन र चुनावको तयारीलाई प्राथमिकता दिँदै काम गरिरहेकी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



