झापा, ११ असोज । आज आश्विन शुक्ल पञ्चमीका दिन पहाडमा वास गर्ने, संसारभरिका जीवहरूमा नवचेतना प्रदान गर्ने देवी स्कन्दमाताको पूजा तथा आराधना गरिन्छ। सेतो वर्णकी, कमलको फूलमा आसन ग्रहण गरेकी र स्कन्दकुमारकी माता भएकाले उनलाई स्कन्दमाता भनिएको हो। कमल ओछ्याएर बस्ने भएकाले पद्मासना देवी पनि भनिन्छ।
स्कन्दमाताको काखमा सुपुत्र स्कन्दकुमार आनन्दपूर्वक विराजमान छन्। स्कन्दमाताको सेवा गरेमा स्वामी कार्तिकेयको उपासना गरे सरह फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यस्तो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ।
देवी भागवत पुराण अनुसार, स्कन्दमाता सूर्य मण्डलकी अधिष्ठात्री देवी हुन्। उनको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ। स्कन्दमाताका चार हातहरू छन्—दाहिने माथिल्लो हातमा भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन्, तल्लो हातमा कमल पुष्प सुशोभित छ। देब्रेतर्फको माथिल्लो हात वर मुद्रामा छ भने तल्लो हातमा पनि कमल पुष्प सुशोभित छ। सिंह उनको वाहन हो।
शास्त्र अनुसार, तारकासुरले ब्रह्माजीबाट शिवजीका पुत्रको हातबाट मृत्युको वरदान प्राप्त गरेपछि तीनै लोक त्रसित भए। तारकासुरले देवताहरूलाई स्वर्गबाट भगाएर राज गर्न थाल्यो। यसैबीच सतीदेवीको मृत्यु पश्चात भगवान् शिव ध्यान मग्न भए। सतीले पार्वतीको रूपमा हिमालय पर्वतमा पुनर्जन्म लिएपछि पनि शिवजीले योग त्याग गरेनन्। पार्वतीले ब्रह्मचारिणीको रूप धारण गरी कठोर तपस्या गरिन्।
पार्वतीको तपस्याको फलस्वरूप शिवजीले योग त्याग गरी पार्वतीसँग विवाह गरे। त्यसपछि श्री महादेव र पार्वतीका पुत्र कुमार कार्तिकेयको जन्म भयो, जसले तारकासुरको वध गरे।
स्कन्दमाताको उपासनाले भक्तको सबै इच्छाहरू पूरा भई मोक्ष प्राप्ति हुने शास्त्रीय मान्यता छ। अतः मनलाई एकाग्र एवं पवित्र राखी “ॐ देवी स्कन्दमातायै नमः” मन्त्रको उच्चारण गर्दै देवीको आराधना गर्दा भवसागर पार गर्न कठिनाइ आउँदैन। स्कन्दमाताको पूजाले धार्मिक आस्था मात्र होइन, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य मान्यतासँग संघर्ष गर्न आत्मबल प्रदान गर्छ भन्ने शास्त्रीय वर्णन छ।


