
झापा, २८ साउन । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्रीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन थालिएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो ।
हुलाक सेवा विभागका अनुसार साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये ८ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरमै पुर्याएर वितरण गरिएको छ ।
त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्याइएको छ । तीमध्ये १ हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै वितरण गरिएको विभागले जनाएको छ ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार हुम्लाबाहेक देशका सबै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सेवा कार्यान्वयनमा आएको छ । हुम्लामा पनि सेवा सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।
सरकारी सेवाको पहुँच नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात तथा सामग्री घरघरमै पुर्याउने व्यवस्था कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो ।
शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउने सेवाका लागि नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबीच गत असार ८ गते सम्झौता भएको थियो । त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका लागि छलफल भइरहेको विभागले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका १ हजार ४८० प्रयोगशाला नमूना ढुवानी गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँगको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री तथा स्वास्थ्य बीमा बोर्डसँगको सम्झौताअनुसार २८ भन्दा बढी जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयमा १३० बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागसँग साउन ८ गते भएको सम्झौतापछि जग्गाधनी पुर्जा र अन्य सरकारी कागजात तथा सामग्रीसमेत हुलाकमार्फत ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकमका सिमकार्डबाहेक अन्य सामग्री पनि हुलाकमार्फत ढुवानी हुँदै आएको विभागले जनाएको छ ।
हुलाक सेवालाई प्रभावकारी बनाउन ठेगाना प्रणाली व्यवस्थित गर्नुपर्ने महानिर्देशक पङ्गेनीको भनाइ छ । बसाइँसराइ हुँदा नागरिकले हुलाकलाई आफ्नो नयाँ ठेगाना उपलब्ध गराउने व्यवस्था भए सरकारी कागजात तथा सामग्री सम्बन्धित व्यक्तिसम्म पुर्याउन सहज हुने उहाँले बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ । आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ ।
हुलाक सेवाको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा समेत सम्बन्धित निकायबीच छलफल भइरहेको छ । यस्तै, द्रुत हुलाक, पार्सल तथा पत्र सेवाको प्रयोग बढाउन सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विभागले हुलाकलाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी सरकारी सेवा तथा कागजात नागरिकको घरदैलोसम्म पुर्याउने भरपर्दो सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।


