
झापा, २९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग, मकवानपुरमा कान्ति लोकपथ र सिन्धुपाल्चोकमा अरनिको राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध छन्। पछिल्लो विवरणमा यी राजमार्गका केही खण्ड पूर्ण रूपमा बन्द रहेको जनाइएको छ।
त्यस्तै, रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, धादिङमा पृथ्वी राजमार्ग, लमजुङमा मध्यपहाडी लोकमार्ग, रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग तथा रुकुमपश्चिममा भेरी करिडोर पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्।
यसैगरी बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेँसीसहर–बेनी–जोमसोम सडक तथा भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
वर्षाका कारण सडकमा पहिरो खस्ने, नदी तथा खोलाले सडक कटान गर्ने र सडक भासिने जोखिम अझै कायम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकाय तथा स्थानीय प्रहरीबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


