
झापा, २९ साउन । म्याद गुज्रिएका ग्यास सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गरी बिक्रीको तयारी गरेको आरोपमा मोरङको एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका–५ मा सञ्चालित रिजालको भान्छा ग्यास उद्योग प्रालिको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उद्योग परिसरमा रहेका १९ वटा सिलिण्डरमध्ये ११ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएकोभन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो। यस्तै, मापदण्डविपरीत म्याद गुज्रिएका दुई वटा ग्यास सिलिण्डरमा समेत सिल लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो।
अत्यावश्यक सेवाअन्तर्गत रहेको ग्यास उद्योगले कानुनविपरीत उपभोक्ताको सुरक्षा संवेदनशीलतामा खेलबाड गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालयले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको हो। साथै, म्याद गुज्रिएका दुई वटा सिलिण्डरको सिल तोडी नष्ट गरिएको प्रशासनले जनाएको छ।
यसैबीच, अनुगमन टोलीले विराटनगर महानगरपालिका–३ स्थित कञ्चनश्वर ग्यास पसलमा पनि अनुगमन गरेको थियो। अनुगमनका क्रममा सहयोग नगरेको भन्दै पसललाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
मोरङमा ग्यास उद्योग तथा पसलमाथि अनुगमन तीव्र पारिएको छ। यसअघि कोशी ग्यास उद्योगलाई पनि कम तौलका सिलिण्डर बिक्री गरेको भन्दै २ लाख ९० हजार रुपैयाँ जरिबाना गरिएको थियो।
उपभोक्ताको सुरक्षासँग प्रत्यक्ष जोडिएको ग्यासको तौल, सिलिण्डरको म्याद र सुरक्षा मापदण्डमा लापरबाही गरेको पाइए कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


