
सागर गौतम
खुदुनाबारी, १० पुस । मुटु रोगबाट पीडित झापाको अर्जुनधारा–२ कि दिलकुमारी नेम्वाङको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । स्थानीय वासिन्दाले नेम्वाङ बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका हुन् ।
आर्थिक रुपमा बिपन्न नेम्वाङको जायजेथाबाट उपचार सम्भव नहुने भएपछि परिवारको अनुरोधमा स्थानीयले समिति निर्माण गरेर सहयोगको याचना गरेका छन् । नेम्वाङको मुटुको धमनीमा पाँचवटा पाइप हाल्नुपर्ने स्थानीय स्वास्थ्यकर्मी खगेन्द्र लिङदेनले जानकारी दिए । नेम्वाङको गंगालाल ह्दय रोग उपचार केन्द्रमा उपचार भइरहेको बताइएको छ । उनको उपचारका लागि ८ लाख रुपैंयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । ६३ बर्षिया नेम्वाङका चारजना छोरा छन् । यसअघि रोग पत्ता लगाउनका लागि चेकजाँचमा भएको जायजेथा सबै सकिएको छोरा अमर नेम्वाङले जानकारी दिए ।
स्थानीय राजा साँवाको नेतृत्वमा गठित समितिले सहयोगको याचना सहित रकम संकलन गर्न शुरु गरेको छ । समितिले आह्वान गरेको छलफलको क्रममा लगभग ५० हजार रुपैंयाँ संकलन भएको कोषाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले ८ लाख रुपैंयाँ संकलन गरेर दिलकुमारीको उपचार गर्न समिति प्रतिबद्ध रहेको बताए । आगामी माघ २१ गते नेम्वाङको अपरेसनको मिति तय भएको जानकारी श्रेष्ठले दिए । उनले नेम्वाङको उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।
दिलकुमारी नेम्वाङ बचाउ अभियान आयोजित पत्रकार सम्मेलनमा वडा–३ का अध्यक्ष जीवन कुमार भण्डारी, नगरसभा सदस्य सिताराम भट्टराई, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु खनाल, बेलटार खानेपानी उपभोक्ता तथा सरसफार्ई समितिका अध्यक्ष योगेन्द्र आचार्य, जनता माविका प्रध्यानध्यापक जय प्रकाश भण्डारी, रेडक्रस उपशाखा खुदुनाबारीका सचिव मुकुन्द भण्डारी, सुखानी सामुदायिक वनका अध्यक्ष लक्ष्मी चापागाई, समाजसेवी नरेन्द्र इङनाम लगायतले सहयोग लागि सबैलाई जुट्न अपिल समेत गरेका छन् । उनीहरुले दिलकुमारीको उपचारबाट बचेँमा सो रकमबाट आर्थिक रुपमा बिपन्न अन्य बिरामी व्यक्तिका लागि समेत स्थान्तरण हुने गरी समितिले कार्यविधि बनाएर अघि बढ्नेमा प्रतिबद्धता समेत व्यक्त गरेँका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

