–राजेश ढुंगाना
एक दिनमा
अझ एकैछिनमा
ससाना स्कूले नानी-बाबुहरूले
तीन दशकको
कालो, ॲध्यारोलाई
निमिषभरमै
ध्वस्त पारिदिए
परास्त गरिदिए
तीन दशकको
विषाक्त देशलाई
अमृत बर्षाको सम्भावना देखाइदिए
को नि के-केका
विरुद्ध उठेका कलिला बाबु-नानीका
हात र आवाजहरु
सडकमा
रगत पल्टेर
देशको
मुस्कान खोज्दै मरिरहे
सडकमा
क्षत-विक्षत लम्पसार
रगतको आहालमा डुबेर
◾️
र,
मर्नुभन्दा अघि
अथवा
मर्दै-मर्दाको क्षण र समय
उनीहरूले
आफ्नो वर्तमान माग्दै
हाम्रो भत्किएको सपनालाई
टड्कारो बौराए एक पटक
हो,
शहादत दिएर
रक्त – बलिदानको
स्कूले नानी-बाबुहरूले
हामीलाई
भविष्यको नौलो क्षितिज देखाए

रोक्नु हुन्न यात्रा
अविराम हिंड्नु पर्छ
भन्ने बताए
सबैभन्दा धेरै त
हामीले
सदैव र निरन्तर
बिर्सिएको
हिंड्नै पर्ने यात्राको
बाटो देखाए
◾️
रक्तविज
कहीं, कतै, कहिले
खेर जान्न – झाङ्गिन्छ
मर्दैन मारेर
बरू
जिउँदिन्छ
सदैवका लागि
◾️
हो,
क्रान्ति फेरि पनि
यहाँ एकपटक
अधुरो नै रहला
तर
यो क्रान्ति यसपटक
उधारोमै रहे पनि यसले
एउटा ऋणमुक्त
नगद
र पूर्ण क्रान्तिको यात्रा
थालेको छ
हो…
नानी – बाबुहरूको यो क्रान्तिले
नेपाल आफैंमा
क्रान्तिमय बनेको छ
एउटा पूर्ण क्रान्तिको संघार
गर्भाधान भैसकेको छ
◾️
हो,
यो क्रान्तिले
पहिलो पटक
नेपाल जन्माउॅछ
अब नेपाल जन्मन्छ ।
🔶
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

