
भद्रपुर, ३१ असोज । झापाको भद्रपुर–७ स्थित सरस्वती टोलमा रहेको सेमिन बप्तिस मण्डलीले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मण्डलीको २५औं वर्षगाँठको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय ६ जना महिला र १० जना पुरुष गरी कुल १६ जनाले रक्तदान गरेका छन्। मण्डलीका पास्चर ओमप्रसाद पौडेल ९डेविड०ले कार्यक्रमको शुभारम्भ गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले रजत महोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
पास्चर पौडेलका अनुसार मण्डलीले यही कात्तिक १४, १५ र १६ गते बृहत रूपमा रजत महोत्सव मनाउने तयारी गरिरहेको छ। कात्तिक १४ गते भारतबाट आमन्त्रित अतिथिहरुको सहभागितामा महोत्सवको उद्घाटन गरिनेछ। सो अवसरमा नवनिर्मित भवन र चौचारोको उद्घाटन तथा समारिका विमोचन गरिनेछ। साथै, जीवनदर्शनसम्बन्धी प्रवचनहरू पनि प्रस्तुत गरिने पौडेलले जानकारी दिनुभयो।


