झापा, ३१ असोज । तिहार नजिकिँदै जाँदा झापामा प्रतिबन्धित पटाका बरामद हुने क्रम बढ्दो छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै करिब पाँच लाख रुपैयाँ बराबरको पटाका नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार अर्जुनधारा–८ शनिश्चरे बजारमा रहेको रमेश खनालको कोल्ड सेन्टरको पश्चिमपट्टिको गोदामबाट करिब तीन लाख मूल्यको पटाका बरामद गरिएको हो। कार्टुन तथा बोरामा पोका बनाई अवैध रूपमा राखिएका विभिन्न प्रकारका पटाका इलाका प्रहरी कार्यालय अनारमणिबाट गएको टोलीले बरामद गरेको थियो।
त्यस्तै, बिर्तामोड–४ स्थित बस्नेत फ्रेस हाउस छेउमा बेवारिसे अवस्थामा करिब डेढ लाख मूल्य बराबरको पटाका फेला परेको थियो।
यसैगरी, शिवसताक्षी–८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सुरुङ्गाबाट दमकतर्फ जाँदै गरेको मे १ ह ३१२० नम्बरको अटोमा लुकाई छुपाई लैजाँदै गरेको करिब ३५ हजार मूल्य बराबरको पटाका बरामद गरेको छ। बरामद गरिएका पटाका इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।
प्रहरीका अनुसार यसअघि पनि झापाका विभिन्न स्थानबाट १० लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद भइसकेका छन्। तिहारको समयमा पटाका प्रयोगबाट हुने दुर्घटना र वातावरणीय असरलाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।


