
झापा, ३ कात्तिक । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दिपावली, छठ, उधौली लगायतका चाडपर्वहरूलाई हर्षोल्लासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउन विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
कार्तिक २ गते भर्चुअल माध्यमद्वारा आयोजित बैठकमा उनले जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि, कालोबजारी, खुला सिमा नाकाबाट हुने चोरी तस्करी, लागू औषधको ओसारपसार, झैझगडा, जुवा तासजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ प्रहरी परिचालन गर्न निर्देशन दिए।
प्रमुख कार्कीले चाडपर्वको समयमा लाग्ने मेला, वैङ्क तथा बित्तीय संस्था, सुनचाँदी पसलहरूमा प्रहरीको निगरानी बढाउन, सरोकारवाला निकायसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न र यात्रुहरूको आवागमन सहज बनाउन ट्राफिक व्यवस्थापन सुदृढ गर्नसमेत निर्देशन दिए।
त्यसैगरी, मौषम प्रतिकूलताका कारण हुने वाढी, पहिरो, डुवानजस्ता विपद्का घटनामा प्रहरी संवेदनशील भई अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी परिचालन हुनुपर्नेमा पनि उनले जोड दिए।


