ताप्लेजुङ, १३ कात्तिक । चक्रवात ‘अर्नब’को प्रभावका कारण ताप्लेजुङमा बिहीबार साँझदेखि बाक्लो हिमपात र अविरल वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेपछि कञ्चनजंघा क्षेत्र पुगेका २५० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका छन् ।
कञ्चनजंघा हिमाल आसपासका लोनाक, सेलेले र खाम्बाछेन क्षेत्रमा बाक्लो हिमपात भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्साका पर्यटक सहायक टाँसी शेर्पाले जानकारी दिनुभयो ।

हिमपात बढेपछि माथिल्लो बेसक्याम्प पुगेका पर्यटक घुन्सातर्फ झर्न थालेका छन् भने कतिपय सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन् । घुन्सा र ग्याब्ला आसपासका क्षेत्रमा पनि लगातार हिउँ र पानी परिरहेको स्थानीयले बताएका छन् ।
संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कअनुसार कञ्चनजंघा क्षेत्रका विभिन्न क्याम्पमा भारतीय तथा युरोपेली मुलुकका पर्यटकसहित स्वदेशी पर्यटक रहेका छन् । पर्यटकको चाप बढेसँगै घुन्साका होटल भरिभराउ भएका छन् ।
जिल्लाको ओलाङचुङगोलास्थित सिजनेमा ताल अवलोकन गर्न पुगेका १६ जना नेपाली र उच्च हिमाली जैविक विविधताबारे अध्ययन तथा अनुसन्धानका लागि आएका नौ जना विदेशी पर्यटकसहित ४० भन्दा बढी पर्यटक ओलाङचुङगोलामा सुरक्षित रहेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिनुभयो ।
मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनलगायत क्षेत्रमा रहेका पर्यटक पनि सुरक्षित रहेको जनाइएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार प्रतिकूल मौसमका कारण हालसम्म कुनै अप्रिय घटना वा विपद् भएको जानकारी प्राप्त भएको छैन । कञ्चनजंघा क्षेत्रमा रहेका पर्यटकमध्ये ३६ जना ललेप आइपुगेको उहाँले बताउनुभयो ।
मौसम प्रतिकूल रहेकाले उच्च सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय, फक्ताङलुङ गाउँपालिका र अन्य स्थानीय तहले सार्वजनिक सूचना जारी गरेका छन् ।
लगातारको वर्षा र हिमपातसँगै अत्यधिक चिसो बढेपछि सदरमुकाम फुङलिङ बजार सुनसान बनेको छ । सवारीसाधनको आवागमनसमेत निकै कम भएको छ ।
सम्भावित हिमपात, चिसो र हिमाली क्षेत्रमा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई सुरक्षित स्थानमा रहन तथा मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ ।



