झापा, १३ कात्तिक । सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म कोशी नदीमा तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । कोशी ब्यारेजको विकल्पका रूपमा निर्माण गर्न लागिएको उक्त पुलको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको छ ।
सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार केही वर्षअघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० का आधारमा पुल निर्माणको तयारी भइरहेको छ । एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा निर्माण हुने परियोजना सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी १४ किलोमिटरले घट्नेछ ।

निर्देशक ढकालले पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत तीन किलोमिटर लामो विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ । पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अघि बढाइएको छ ।
प्रस्तावित आयोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय प्रभाव तथा कानुनी स्वीकृतिसम्बन्धी विषयमा आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ । यी विषयले आयोजना कार्यान्वयनको तयारीमा थप प्रक्रिया आवश्यक बनाएको छ ।
कोशी ब्यारेज पुरानो हुँदै गएको र त्यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा नयाँ पुललाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो । नयाँ पुल र सडक निर्माण सम्पन्न भएपछि पूर्वी नेपालको यातायात आवागमन सहज हुने, यात्रा दूरी घट्ने र कोशी ब्यारेजमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



