वीरगञ्ज, ४ कात्तिक । दीपावलीको मुख्य आकर्षण लक्ष्मीपूजा सम्पन्न भएसँगै वीरगंजसहित तराई मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी उत्साहपूर्वक सुरु भएको छ। भोजपुरा संस्कृतिको केन्द्र मानिने वीरगंजमा दीपावलीपछि छठ पर्व विशेष उमङ्गका साथ मनाइने परम्परा छ।
आज बिहानैदेखि वीरगंजको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका सामग्री—जस्तै दियो, पाला आदि—बेच्नेहरूको भीड लागेको छ। बजारमा नयाँ कपडा, जुत्ता, फलफूल, बासका सामानहरू पनि तिव्र रूपमा विक्री भइरहेको छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ।
वीरगंज महानगरपालिका तथा विभिन्न सामाजिक संघसंस्थाहरूले छठ पर्वका लागि घाटहरूको सरसफाइ र शृङ्गारको काम सुरु गरिसकेका छन्। विशेषतः घडिअर्वा पोखरी परिसरलाई आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा भइरहेको छ। रानीघाट, छपकैया, मुर्ली, नगवा, लक्ष्मणवा, राधेमाई टोल लगायत दुई दर्जनभन्दा बढी छठ घाटहरूमा तयारी जारी छ।
छठ पर्वको तयारीको अनुगमन गर्न वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा टोलीले विभिन्न धार्मिक स्थल र छठ घाटहरूको स्थलगत अवलोकन गरेको छ। सिंहले महानगरका वडाहरूमा रहेका घाटहरूको सरसफाइ र व्यवस्थापनबारे जानकारी लिएका छन्।
वीरगंज महानगरपालिका वडा नं. १६ निवासी शम्भु थापाले भने, “वीरगंज लक्ष्मीको नगरी र मुलुककै आर्थिक राजधानी हो। यहाँ दीपावली भव्य रूपमा मनाइन्छ र त्यसपछि छठको तयारीमा सबै जुट्छन्।”
छठ पर्वले धार्मिक मात्र होइन, सामाजिक र आर्थिक पक्षमा पनि तराई मधेसमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। अबको केही दिनमा सूर्य उपासना र प्रकृतिप्रति श्रद्धा व्यक्त गर्ने यो पर्वले वीरगंजलाई अझै रंगीन बनाउनेछ।


