मोरङ, ७ कात्तिक । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरी मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले हालसम्म छ महिना पूरा गरिसकेको छ।
भारतको बिहार राज्यका कमलेश शर्मा परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन्। इलामको कन्याममा भेटिएका शर्माले यसपटकको भ्रमण सहज र रमाइलो भएको अनुभव सुनाए। “पहिले साथीहरूसँग नेपाल आएको थिएँ, तर यो पहिलोपटक परिवारसहित आएको हुँ,” उनले भने। शर्मा भन्छन्, “सस्तो मूल्यमा स्तरीय होटलमा बस्न पाइएको छ, अरु भारतीय पर्यटक पनि नेपाल घुम्न रुचाउँछन्।”
पर्यटन वर्षको सुरुआती तीन महिनामा (वैशाख, जेठ, असार) कार्यक्रमहरू सक्रिय देखिए पनि पछिल्ला तीन महिनामा प्रचारप्रसारमा कमी आएको छ। ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमलाई सफल बनाउन निजी क्षेत्रको समेत सक्रिय सहभागिता रहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका पर्यटकहरू कोशी प्रदेशमा आकर्षित हुने गरेका छन्। कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन पर्यटन वर्षको आयोजना गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन, ऊर्जा, जलविद्युत् र जडीबुटी क्षेत्रलाई प्राथमिकता दिइने बताएका छन्। प्रदेशमा करिब पाँच सय पर्यटकस्तर होटलहरू छन्, जसमा डेढ सय होटल वानस्टारदेखि फाइभस्टार स्तरसम्मका छन्। ती होटलहरूमा दैनिक तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको श्रेष्ठले बताए।
गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरेको उनले बताए। छठपर्वपछि पर्यटन वर्षको प्रचारप्रसारलाई थप तीव्रता दिइने योजना रहेको छ।
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले अत्यन्तै रमणीय मानिन्छ। यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) देखि नेपालकै होचो भूभाग कचनकवल (७० मिटर) सम्मको विविधता पाइन्छ। इलामको श्रीअन्तुडाँडामा सूर्योदय हेर्न दैनिक हजारौँ पर्यटक पुग्ने गरेका छन्। कोशीटप्पु आरक्षमा चराचर हेर्नेदेखि वेतना सिमसारका कछुवा पर्यटकको आकर्षण बनेका छन्।
प्रदेश सरकारले पर्यावरणीय गन्तव्यका रूपमा १३ स्थान र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ। सगरमाथा अवलोकन गर्न आउने पर्यटकमध्ये ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक हुने सरकारी तथ्याङ्कले देखाएको छ।
धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका महत्त्वपूर्ण केन्द्र हुन्। इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारजस्ता स्थान पर्यटकीय गन्तव्यका रूपमा परिचित छन्।
सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयु हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोमाञ्चक मानिन्छ। फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल र सभापोखरी ट्रेक पर्यावरणीय पर्यटनको आधार मानिन्छ।


