
झापा, ८ कात्तिक । शुक्रबार साँझ ७ बजे झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेचीपुल क्षेत्रमा लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका स्थानीय अशोक राजवंशी (२१ वर्ष) र रिचार्ड श्रेष्ठ (२२ वर्ष) लाई संकास्पद अवस्थामा देखेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा अशोक राजवंशीको साथबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध २ ग्राम ३०० मिलिग्राम र रिचार्ड श्रेष्ठको साथबाट ३८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुवैको साथबाट कूल २ ग्राम ६८० मिलिग्राम लागुऔषध (प्लास्टिक बाहेक) बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


