
भद्रपुर, ८ कात्तिक । क्लब बांग्ला भद्रपुरद्वारा आयोजित ९ औं श्री सार्वजनिक काली पूजा स्थलमा शुक्रबार भएको निःशुल्क आँखा शिविरमा २८२ जनाले सेवा लिएका छन्।
शिविर मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । जाँचका क्रममा २८ जनामा मोतीबिन्दु देखिएको अस्पतालले जनाएको छ। ती बिरामीहरूको निःशुल्क शल्यक्रिया मेची आँखा उपचार केन्द्र भद्रपुरमा गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए।
शिविरमा नेत्र अधिकृत तथा ओपिडी इन्चार्ज सन्तोष कर्ण, नेत्र सहायक चन्द्रराज साह, दुर्गा राजवंशी लगायतले बिरामीहरूको आँखा परीक्षण गर्दै निःशुल्क औषधि वितरण गरेका थिए। पूजा समितिका संयोजक विजय साहका अनुसार क्लबले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आँखा शिविर सञ्चालन गरेको हो। यस वर्ष क्लबले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरहरू राखेर आकर्षक काली पूजाको पण्डाल निर्माण गरेको समितिका सदस्य निर्मल घोषले जानकारी दिए।


