
झापा, ९ कात्तिक । देशभर आगलागीका घटनामा तीव्र वृद्धि देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते एकैदिन १४ स्थानमा आगलागीका घटना घटेका छन्। सावधानीको कमी र चेतनाको अभावले आगलागीको जोखिम बढेको प्राधिकरणले जनाएको छ।
पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना भएको प्राधिकरणले जानकारी दिएको छ। अधिकांश घटना असावधानीका कारण भएको देखिएको छ।
प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि देशभर १३ स्थानमा आगलागीका घटना भएका थिए। सो दिन झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई–दुई तथा पाल्पामा तीन आगलागीका घटना भएका थिए। कात्तिक ५ गते भने १७ आगलागीका घटना भएको विवरणमा उल्लेख छ।
तीन दिनको अवधिमा देशभर ४४ आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। मनसुन सकिएर वर्षा कम भएपछि आगलागीको जोखिम बढेको विश्लेषण गरिएको छ।
कात्तिक ७ गते देशभर १८ विपद्का घटना भएका थिए। ती घटनामा परेर ६ जना घाइते भएका छन् भने रु ७७ लाख ९१ हजार बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। सो दिन सर्पदंशका दुई, पहिरो एक, चट्याङ र जनावर आक्रमणका एक–एक घटना पनि भएका थिए।
प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


