झापा, १० कात्तिक । झापाको दमक नगरपालिका–८ स्थित अर्गानिक कृषि भवन छेउमा रहेको एक दुई तले घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
आइतबार अपराह्न करिब ४ः३० बजे रविन खडकाको टिनको छानो, खाबाको खम्बा र सेन्टर बेरा गरिएको दुई तले टाढे घरको पछाडिको कोठाबाट विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, भाँडावर्तन, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।
हालसम्म क्षतिको यकिन मूल्याङ्कन हुन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, मोरङको उर्लाबारी नगरपालिका र झापाको कमल गाउँपालिकाबाट खटिएको दमकलको सहयोगमा प्रयास गरिएको थियो। आगो करिब साँझ ५ः५० बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनामा मानवीय वा चौपाया क्षति भने नभएको पुष्टि गरिएको छ।


