झापा, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा भारतको मध्य भागमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा र बदली भएको छ। तर मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमिक रूपमा सुधार आउने संकेत देखिएको छ।
हाल कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदलीको अवस्था छ। महाशाखाले दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
कोशी, मधेस र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुने अनुमान गरिएको छ। ती प्रदेशका केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सर्वसाधारण, किसान, यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


