झापा, १७ कात्तिक । ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापा दमक–८ निवासी धनबहादुर ठकुरी (प्रशान्त) को शव १० महिनापछि फेला परेको छ। गत फेब्रुअरीदेखि बेपत्ता रहेका ४१ वर्षीय ठकुरीको शव न्यूयोर्कको क्विन्सस्थित चिकित्सा शव परीक्षण केन्द्रमा भेटिएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
ठकुरीलाई न्यूयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेपछि एक यात्रुले ९११ मा सम्पर्क गरेका थिए। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा शव परीक्षणका लागि पठाइएको थियो। मृत्युको कारण अझै खुल्न सकेको छैन।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले अन्तिम संस्कारमा समस्या भएपछि एनआरएनए न्यूयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा आर्थिक संकलनको पहल गरेका छन्।
ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका जाने तयारीमा छन्।


