झापा, १९ कात्तिक । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्ने विषयमा छलफल सुरु गरेको छ। शिक्षा मन्त्री महावीर पुनको निर्देशनपछि केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधन गरी अवधारणा पत्र तयार गरेको हो।
महानिर्देशक युवराज पौडेलका अनुसार विषय समावेश गर्दा विद्यालयको समय अवधि, क्रेडिट आवर, शिक्षक दरबन्दी र पूर्वाधार व्यवस्थापनबारे विज्ञहरूसँग छलफल भइरहेको छ। कम्प्युटर विषय थपिएमा विद्यालयको दैनिक समय करिब ६ घण्टा ४५ मिनेट पुग्नेछ।

देशभरका ७ हजार १ सय माध्यामिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्न ७ हजार १ सय स्थायी शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ। शिक्षक दरबन्दी थप गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ। लागत अनुमान वार्षिक ५ अर्ब रूपैयाँ रहेको छ।

