
झापा, २४ कात्तिक । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान सिसिटिभी फुटेज, फोटो, भिडियो तथा साक्षीको आधारमा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत भदौ २४ गते दिउँसो करिब ४ बजे दमक–६ स्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा दमक–३ निवासी १९ वर्षीय रियाज सिलवाललाई कात्तिक २३ गते दिउँसो दमक–५ स्थित डिम्याक्स हल नजिकबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, सोही दिनको घटनामा दुर्गा भगवती मन्दिरमा समेत तोडफोड, आगजनी गरी त्रिशुल बोकेर आपराधिक उपद्रव गरेको देखिएको इलाम चुलाचुली गाउँपालिका–३ निवासी २२ वर्षीय नकुल अधिकारीलाई कात्तिक २३ गते साँझ दमक–९ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुबै अभियुक्तलाई अपराधिक उपद्रव कसुरमा जिल्ला अदालत झापामा उपस्थित गराई पहिलो पटकको लागि चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।


