इलाम, २५ कात्तिक । सामलिङ र माइखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र क्षतिपूर्ति सम्बन्धी माग बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ महमिरका स्थानीयवासीले सङ्घर्ष कार्यक्रम घोषणा गरेका छन्।
सोमबार इलाम बजारस्थित पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रभावित समुदायले आयोजनाहरूले शिक्षा, स्वास्थ्य, वातावरण, रोजगारी र सामाजिक विकासका क्षेत्रमा कुनै योगदान नपुर्याएको आरोप लगाएका हुन्। उनीहरूले स्थापना कालदेखि नै आयोजनाले समुदायप्रति जिम्मेवारी नलिएको र विभिन्न वाचा तथा सम्झौता कार्यान्वयनमा ढिलासुस्ती गरेको बताएका छन्।
वक्ताहरूले आयोजनाले क्षतिपूर्ति नदिएको, घरजग्गा मापन तथा मूल्याङ्कनमा मनोमानी गरेको, पुनःस्थापनाका काम अधुरो छोडेको र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम अवरुद्ध गरेको आरोप लगाए।
स्थानीयहरूले अब आफ्ना अधिकारका लागि आन्दोलनमा उत्रनुको विकल्प नरहेको चेतावनी दिँदै प्रारम्भिक चरणमा निर्माण कार्य रोक्ने, विरोधसभा र प्रदर्शन गर्ने तथा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
आयोजनाको क्षेत्रका विभिन्न प्रभावित बस्तीका प्रतिनिधिहरूको उपस्थितिमा जारी विज्ञप्तिमा, स्थानीय जनताको भावना बुझेर तत्काल सुधारात्मक कदम चाल्न आयोजनालाई आग्रह गरिएको छ।
यसअघि पनि महमिरका स्थानीयहरूले सामाजिक उत्तरदायित्वका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए। तर माग सम्बोधन नभएपछि उनीहरूले थप सशक्त आन्दोलनका कार्यक्रमसहित सङ्घर्ष अघि बढाउने चेतावनी दिएका छन्। आयोजनाले पटक–पटक ध्यानाकर्षण गर्दा पनि ‘झारो टार्ने’ प्रवृत्ति अपनाएको स्थानीयको आरोप छ।


