झापा, २६ कात्तिक । मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका(१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर(११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान–१९ का समिर विश्वकर्मा र अर्जुन बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले प्र.१–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिकाका सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका(६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधी ६८ चक्कीसहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।


