दमक, २८ कात्तिक । वेवारिसे अवस्थामा उद्धार गरिएका एक वृद्धको मृत्यु भएको छ । सुनसरी धरान घर बताउने अन्दाजी ६५ वर्षीय आनन्द राईको मिति २०८२ सालको कार्तिक २६ गते झापाको गौरादह नगरपालिका–५ स्थित मानव उद्धार सेवा केन्द्र महारानिझोडामा मृत अवस्थामा फेला परेका हुन् ।
राईलाई यसअघि भदौ २९ गते झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट क्षेत्रबाट वेवारिसे अवस्थामा उद्धार गरी उक्त सेवा केन्द्रमा राखिएको थियो । सेवा केन्द्रका अनुसार मृतकलाई मुटु, लिवर, जण्डिससम्बन्धी समस्या थियो भने हर्नियाको शल्यक्रिया पनि गरिसकेको बुझिएको छ ।
मृत्युको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान, स्वास्थ्य अवस्था र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


